स्वामी आनन्द अरुण एक बहुआयमिक व्यक्तित्व – Swami Yoganand

0
369

राजनितिक नेताहरु तथा फिल्मी कलाकारहरुमात्र छाईरहने नेपाली टि.भी., छापा पत्रपत्रिका, डिजिटल मिडिया, इन्टरनेट, युट्युव आदिमा आजकल एउटा योगीको लगातार उपस्थिति देखिन्छ । सेता चम्किला दारी सहितको उज्यालोे अनुहार कुनै रिषी लोकबाट झरेका हुन कि जस्तो, हसिलो मुस्कान छर्ने ओठवाट मानौं करुणा र प्रेमको वर्षा भईरहेछ । यी योगीले ध्यान र आध्यात्मको मात्र प्रवचन दिदैनन्, अपितु देश बिदेशमा पुर्विय ध्यान र योगको सन्देश फैलाउदै दौडिरहेका पनि देखिन्छन् । ईन्जिनियरको रुपमा, कहिले स्कूल कलेजका भवनहरुको निर्माण गर्दै गरेका, कहिले खानेपानी योजना पुरा गर्दै गरेका पनि हुन्छन् । त्यस्तै, नेपालको १४ घण्टे लोड सेडिड्ड, कछुवा चालको बिकास, भ्रष्टाचार आदिको बारेमा सबैलाई सचेत गराउन समय समयमा पत्रपत्रिकामा लेख्छन, टि.भि.मा बोल्छन वा आफ्नो आश्रममा सबैलाई बोलाएर देश बिकाशमा लाग्न अनुरोध गर्दै सेमिनारहरु संचालन गरेका पनि पाईन्छन् । करिव ७ दशकको उमेरमा चलिरहेका योगी वर्तमानमा नेपालका साधकहरुको बिचमा मात्र होईन बिश्वका अनेकौैं देशका आध्यात्ममा उत्सुक ब्यक्तिहरुको लागि आशाका केन्द्र बनेका छन्, त्यस्तै नेपालको राजनितिक क्षेत्रमा मात्र होईन छिमेकी देशको राजनितिक बृतमा पनि त्यत्तिकै श्रद्धा गरिन थालिएका छन् । ईन्जिनियर, डाक्टर, सरकारी तथा गैर सरकारी पेशाकर्मीको बिचमा पनि यी योगी अतिशय लोकप्रिय छन् । पाठकहरुलाई लाग्ला , को होलान यस्ता योगी ।
बहुआयामिक ब्यक्तित्वका धनि यि योगी हुन्, सद्गुरु ओशो रजनीशका प्रथम नेपाली शिष्य स्वामी आनन्द अरुण । पाठकहरुको लागि स्वामी अरुणको जीवनगाथा पक्कै पनि उत्सुकताको बिषय हुनसक्छ भन्ने लागेकोले मैले जाने बुझेसम्म उनको जीवनी पस्कने जमर्को गरेको छु ।
ईश्वि सन् १९४४ जुन १६ तदनुसार बि.स. २००१ आषाढ ३ गते शुक्रवारको दिन नेपालको पबित्र भूमि जनकपुरको लोहना गाउमा बुवा केदार प्रसाद सिंह र आमा सुमित्रा देविका सुपुत्रको घरमा एक बालक जन्मे, नाम राखियो अरुण कुमार सिंह । केदार प्रसाद सिंह अत्यन्त सरल, ईमान्दार ब्यक्ति थिए । उनि बि.पी.कोईरालाका निजी सचिव र पछि नेपाल सरकारका बडाहाकिम समेत हुन पुगे । सुमीत्रा देवि शुरु देखि नै नेपाली बिद्यार्थी आन्दोलनकी सक्रिय कार्यकर्ता थिईन् र नेपालबाट सोभियत रुस जाने प्रथम नेपाली टोलीकि सदस्य समेत थिईन् । केदार प्रसाद सिंह र सुमित्रा देविका दूई सन्तान भए, छोरा अरुण र छोरी किरण । उच्च पारिवारिक पृष्ठभूमि भएको घरमा हुर्केका बालक अरुणमा सानै उमेरदेखि नै एक प्रकारको अब्यक्त र अबुझ खोजको लागि ह्दय तडपिन थाल्यो । नेपालका सुन्दर पहाड कन्दरा, खोलानाला, प्रकृति र एकान्तको सान्निध्यमा उनको मन खुव रमाउन्थ्यो ।
बुवा जागीरमा घुमीरहनु पर्ने भएकोले मुजफरपुर भारतमा होस्टलमा बसेर स्कूल र आई.एस्सी सम्म पढेपछि अरुण काठमांडौ आए र सन् १९६८ तिर, काठमांडौको त्रिचन्द्र कलेजमा बि.एस्सीको अध्ययन शुरु गरे, त्यतिबेलै उनलाई ईन्जिनियरीङ्गको छात्रबृति मिल्यो । यहाँ सान्र्दभिक होला, नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव त्रिचन्द्र कलेजमा बि.एस्सीमा उनका सहपाठि थिए । त्यसपछि, कर्णाली जलबिद्युत आयोजनाको लागि भारत सरकारबाट उपलब्ध छात्रबृतिमा भारतको पट्ना बिश्वबिद्यालयमा सिभिल ईन्जिनियरिङ्ग अध्ययन शुरु गरी सन् १९७४ मा अध्ययन पुरा गरेर अरुण नेपाल फर्के । बिहार राज्यका हालका मुख्यमन्त्री नितिश कुमार स्वामी अरुणका ईन्जिनियरिङ्ग पढ्दाका साथि हुन् ।
ईन्जिनियर अरुणले कर्णाली आयोजनाको छात्रबृतिमा अध्ययन पुरा गरि नेपाल फर्केको आधा शताब्दी पुग्न थालिसक्यो तर पचास बर्ष अगाडि शुरु भएको कर्णाली जलबिद्युत आयोजना आजसम्म पनि पुरा हुन त परै जाओस् बामे सर्न पनि सकेको छैन । भारतमा हाल करीव दूई लाख पचास हजार मेगावाट बिद्युत उत्पादन भई रहेछ । केहि बर्ष अगाडि संसारकै अत्यन्त गरीव राष्ट्रको रुपमा रहेको भुटानले हाल करीव ३००० मेगावाट बिद्युत उत्पादन गरेर भारतलाई बिक्रि गरी करीव १० प्रतिशतको आर्थिक बिकाश दर हाँसिल गरीरहेको छ । छिमेकी चिनले पनि करीव १२ लाख मेगावाट बिद्युत उत्पादन गर्ने क्षमता बनाई सकेको तथ्यांकहरुले देखाएका छन् । नेपालको भने हविगत यो छ कि एकसय बर्ष अगाडि सन् १९११ तिरै फर्पिड्ड आयोजनाबाट ५०० कि.वा. बिद्युत उत्पादन शुरु गरी दक्षिण एशियामै जलबिद्युत उत्पादन गर्ने प्रथम राष्ट्र बन्न पुगेको नेपालमा पछिल्लो सय बर्षमा करीव ७०० मेगावाट मात्र बिद्युत उत्पादन क्षमता उपलब्त्र छ भने, त्यस मध्य पनि पावरहाउसहरुले सुख्खा मौसममा करीव ३५० मेगावाट मात्र बिद्युत उत्पादन गर्न सक्दछन् र जनताले दैनिक चौध घण्टा लोडसेडिङ्गको मार खेप्नु परिरहेको छ ।
कर्णाली आयोजना त कहिल्यै शुरु भएन तर त्यसैको लागि पढ्न गएका बिद्यार्थी अरुणको जीवनमा नया अध्याय भने शुरु भयो । सानै देखि साधु सन्त र जोगीहरु प्रति आर्कषित हुने उनले आध्यात्मिक प्यास शान्त पार्न त्यस बखत भारतमा नाम चलेका गुरु महात्माहरु जस्तै आनन्दमुर्ती, महर्षी महेश योगी, स्वामी शिवानन्द आदिसंग दिक्षा लिए तर कोहिसंग पनि आन्तरीक तारतम्य मिल्न नसकेर बिषाद्को स्थितिमा थिए । एकदिन अचानक पट्नामा आचार्य रजनीशको दर्शनले अरुण कुमार सिंहको जीवनमा आध्यात्मिक पखेंटा लाग्यो । ईन्जिनियरीड्डको अध्ययन सिध्याए पछि सन् १९७४ मा नवसन्यास्को दीक्षा सहित भगवान रजनीशबाट अरुण कुमार सिंहले नाम पाए, स्वामी आनन्द अरुण । दीक्षा लिएर स्वामी अरुण नेपाल फर्के दूईवटा लक्ष्यका साथ – एक सफल ईन्जिनियर बनि देशको सेवा गर्ने र दोश्रो सदगुरुको सन्देशलाई नेपालमा फैलाउने । उनले आफनै घर ताहाचलमा आषीश ध्यान केन्द्र खोले । बिहान केन्द्रमा ध्यान, दिउसो सरकारी संस्थान एन.सि.सि.एन.मा ईन्जिनियरको कार्य अनि साझको समयमा काठमांडौका सडक र पेटीमा सद्गुरुका साहित्य बिक्रि गर्दै जिज्ञाशुहरु समक्ष सदगुरुको सन्देश पु¥याउन थाले । साथै ध्यान शिबिरको आयोजन र संचालन गर्दै साधकहरुलाई नवसन्यासमा दिक्षा पनि दिन थाले । यसरी भयो नेपालमा ओशो मुभमेण्टको शुरुवात ।
नेपाली सरकारी संयन्त्रमा रहेर सदगुरुको आध्यात्मिक सन्देश फैलाउने कार्य त्यति सहज नहुने ठानी करीव १० बर्षको सरकारी सेवाबाट राजीनामा दिई स्वामी अरुणले बिल्डिङ्ग डिजाईन अथोरिटि ( बि.डि.ए.) नामको आफ्नै ईन्जिनियरिड्ड कन्सल्टेन्सी खोले । पछि गएर, सोहि कन्सल्टेन्सि नेपालमा ओशो आश्रम र ध्यान केन्द्रहरुको निर्माणमा सहयोगी हुन पुग्यो । कन्सल्टेन्सिको कमाईको माध्यमले स्वामी अरुणले आफू र आफ्ना आश्रित परिवारको लागि साथै सदगुरु ओशोको कार्यमा खटिनको लागि खर्च पनि जुटाए । अहिले बि.डि.ए.ले नेपालका ओशो आश्रमहरुको निर्माणमा अग्रणी भूमिका खेलीरहेको छ, यहाँ भनिरहनु नपर्ला कि स्वामी अरुण यस कार्यको केन्द्रिय पात्र हुन् ।
ओशो तपोवनले सन २००९ को दशैको अवसरमा गैह्आवाशीय नेपालीहरुको लागि आयोजना गरेको एउटा कार्यक्रमको मलाई सम्झना आउछ । सो कार्यक्रममा बोल्दै स्वामी आनन्द अरुणले भनेका थिए “करीव चालिस बर्ष अगाडि कर्णाली जलबिद्युत योजनाको लागि छात्रबृतिमा ईन्जिनियरीड्ड पढेर आएको म पेशाबाटै रिटायरमेण्टको नजीक छु तर कर्णाली आयोजना एक पाईला पनि अगाडि सरेको छैन । शायद् मेरो जीवनकालमा कर्णाली आयोजनाको बिजुली देख्ने सपना पनि अधुरै रहला कि ।” स्वामी अरुणका यी बचन सुनी त्यहाँ  उपस्थित गैह्आवाशिय नेपालीहरुका अगुवा कार्यकर्ता उपेन्द्र महतोले कर्णाली परियोजनालाई पुरा गरेरै छाड्ने वचन दिएका थिए । त्यो समय बितेको पनि पाँच बर्ष भईसकेको छ भने नेपाल त्यहि चौध घण्टे अन्धकारमय अवस्थामै छ ।
अहिले नेपाल नेताहरुको अहंकारको द्वन्दको भूमरीमा परेको छ । संसारभरि बिकाशले पखेटा फैलाएको समयमा बिकाशको एजेण्डालाई थाड्डनामा मिल्काई संबिधान निर्माणको नाममा बिनासतिर देशलाइ धकेल्न खोजीएको अवस्था अनि पद र पैसाको लोभमा फसेका नेता तथा कर्मचारीतन्त्रको कारणले भएको नेपालको दूर्गतीले स्वामी अरुण पनि धेरै चिन्तित छन् । त्यसैले त भर्खरै मात्र ओशो तपोवनमा आध्यात्म र बिकाशको समन्वयको लागि एक कार्यक्रम आयोजना गरि उनले भने, “ ओम ओम गरेर मात्र बस्न मनले मानेन, त्यसैले बिकासको लागि पनि सबैलाई झक्झकाउन चाहन्छु ।” केहिदिन अगाडी उनले एउटा प्रतिष्ठित डिजिटल पत्रिकामा लेखेका पनि थिए कि “ संघीयता होईन, बिकाश यो देशको आजको प्राथमिकता बन्नु पर्दछ । ” स्वामी अरुणको सान्निध्यमा गई बेलाबेलामा मनको टेन्सन पखाल्ने नेपालका नेता र उच्चपदस्थ कर्मचारीहरुले देशको बिकाशका सम्बन्धमा पनि उनको कुरा सुनिदिएमा नेपाली जनताले भोग्नुपरिरहेको अन्तहिन दूर्दशाबाट केहि राहत पाउँथे कि ! ! !

This article was published in national monthly print magazine NITI MONTHLY for the month Chaitra 2071.